काठमाडौं, पुस २८ : घनश्याम भुसाललाई छिटने पार्टीमा समावेश हुन भन्दै नेकपा एकीकृत समाजवादीले आग्रह गरेको छ । आज भुसाललाई पत्र पठाउदै एकिकृत समाजवादीले छिटोभन्दा छिटो पार्टीमा सामेल हुन आग्रह गरेको हो।
नेकपा एसका महासचिव बेदुराम भुषालले आज घनश्यामलाई लेखेको पत्रमा लेखिएको छ, ‘पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन् ।
त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ ।’
यस्तै पत्रमा ‘तपाईँले प्रस्तुत गर्नु भएका प्रस्तावहरू पार्टीले अहिले अंगालेको नीति,विचार,सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् ।
कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकीकृत समाजवादी)मा कायम रहेको सैद्धान्तिक विन्दुमा नफर्किकन सुखै छैन भन्ने तपाइँको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दो छ ।
नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौँ महाधिवेशनको निर्णयप्रति नेकपा (एकीकृत समाजवादी) अहिले पनि प्रतिबद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो,’ भनिएको छ।
समाजवादीले विभिन्न राजनीतिक दल,समूह एवं व्यक्तिहरुका बीचमा एकता तथा सहकार्यका अभ्यासहरु जारी रहेको स्पष्ट पारेको छ ।