कांग्रेसलाई ओलीको कटाक्षः प्रधानमन्त्रीको लोभ देखाउनेले संविधानको धारा नै भुलेछन्

  पुष २४, २०७९

धुलिखेल,पुस २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको बताउनुभएको छ ।

जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी–विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘हामीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउँछौं भनेर चुनावमै भनेकै थियौं । त्यसलाई निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौं ।’

अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै अझै पनि एमाले नेतृत्वको कम्युनिष्ट सरकार र पार्टी ढालेर कोर्ष करेक्सन गरेकोमा गर्व गरिरहेको टिप्पणी गर्नुभयो ।

नेपालले शनिवार आयोजित कार्यक्रममा आफ्नै अगुवाईमा केपी ओलीलाई ढालेर राजनीतिलाई सही दिशामा लगेको बताउनुभएको थियो ।

नेपालप्रति लक्षित गर्दै ओलीले भन्नुभयो , ‘हिजोतिर एकजना नेताले एमालेले गलत दिशामा लगेको राजनीति सही बाटोमा ल्यायौं,दुईतिहाइको हैसियतप्राप्त कम्युनिष्ट पार्टी राष्ट्रिय शक्ति बन्नु गलत ट्रेण्ड थियो, त्यसलाई असंवैधानिक ढंगले अदालतबाट कोर्ष करेक्सन गर्‍यौं भनेछन् ।

माया लाग्यो त्यस्ता व्यक्ति देखेर, अझ आफूलाई वामपन्थी पनि भन्छन् । म नेता हो नेता, कार्यकर्ता होइन भन्छन् । त्यस्ता मान्छेले जनताको शक्तिलाई कमजोर गरेकोमा कोर्ष करेक्सन गरेको ठान्छन् । कठैबरा भन्न सकिन्छ, कठैबरा ।’

तपाईको प्रतिक्रिया