भक्तपुर, पुस २३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले राजनीति गर्नेहरूको शिर ठाडो हुनाका लागि जनताको सेवा अनिवार्य रहेको स्पष्ट पार्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो रहेको औँल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २६औँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “पदका लागि गठबन्धन बन्ने र भत्किने कुराको भत्र्सना गर्नुपर्छ, हाम्रो पार्टी राजनीतिक स्थिरताको पक्षमा छ, पदका लागि सरकार ढाल्न यताउति गर्ने पक्षमा छैन ।”
उहाँले जनताले पत्रकार र पत्रकारिताप्रति ठूलो विश्वास गरेको बताउँदै पत्रकारिताप्रति जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति९रासस०का अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले सतहीमा रहने नभई गहिराइमा गएर सत्य, तथ्य समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले स्थापना दिवसका अवसरमा पत्रकारलाई पुरस्कृत गर्नुका साथै सांसदहरूलाई सम्मान गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।
शाखाका अध्यक्ष जगत्कृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घले नगद रु पाँच हजारसहित पत्रकार प्रविणराज जोशीलाई अग्रज पत्रकार सम्मान गरेको छ ।
त्यसैगरी नगद रु १० हजारसहित स्व भगवान्–राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कार भरतबन्धु थापा, नगद रु दुई हजार पाँच सयसहित स्व मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार नवीना खबुर्जा श्रेष्ठलाई र समान राशिको क्रियाशील महिला पत्रकारिता पुरस्कारलाई कविता थापालाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय दुर्लभ थापा, रमा कोइराला पौडेल, प्रदेशसभा सदस्य किरण थापामगर, सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ राजभण्डारी, देवेन्द्र श्रेष्ठ दिवाकर, भुवनकेशरी श्रेष्ठ भावना र धनेश्वरी प्रजापतिलाई पनि सम्मान गरिएको थियो ।