मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : के–के भए निर्णय ?

  पुष ०४, २०७९

काठमाडौं, पुस ४ : सरकारले नीलगिरी खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सोमबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले माथिल्लो फावाखोला जलविद्युत् आयोजना निर्माणका लागि पनि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। मन्त्री कार्कीले संरक्षण क्षेत्रभित्रका जलविद्युत् आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको बताए।

त्यसैगरी, अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी तथा खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी दुई आदेश पनि स्वीकृत गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।

पत्रकार सम्मेलनमा उनले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने र कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शीला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया