पेनाल्टीका लागि हजार गोलको अभ्यास एनरिकलाई धोका

  मंसिर २३, २०७९

काठमाडौं, मंसिर २३ : कतारमा जारी विश्वकपमा प्रिक्वार्टरफाइनल खेलअघि स्पेनका प्रशिक्षक लुईस एनरिकले खेल टाइब्रेकरमा पुगे आफ्नो टोलीलाई कुनै समस्या नहुने बताउनुभएको थियो ।

एनरिकले हरेक खेलाडीलाई अभ्यासका क्रममा एक हजारसम्म पेनाल्टी हान्न लगाएको बताउनुभएको थियो । तर, उपाधि दावेदार स्पेन प्रिक्वार्टरफाइनलमा मोरोक्कोसँग पेनाल्टीमै मार खायो । टाइब्रेकरमा स्पेनका कुनैपनि खेलाडीले गोल गर्न सकेनन् ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोलरहित बरबरीमा रोकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा मोरोक्कोले स्पेनलाई ३–० गोलले हराउँदै घर पठाएको थियो । टाइब्रेकरमा मोरोक्कोका अब्देलहामिद साबिरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गर्नुभएको थियो । बदर बनोउनको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउनु भएको थियो ।

टाइब्रेकरमा स्पेनका सबै खेलाडी चुके । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लागेको थियो । कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टी प्रहारलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले बचाउनु भएको थियो ।

मोरोक्कोसँग टाइब्रेकरमा स्तब्ध भएपछि बिहीबार स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक एनरिकले प्रशिक्षक पद नै छाड्नु भएको छ । मोरोक्कोसँग पराजित भएसँगै दबाबमा रहनुभएका एनरिकले प्रशिक्षक पदबाट राजीनामा दिएको स्पेननिस फुटबल फेडेरेसनले जनाएको छ । फेडेरेसनले एनरिकले टोलीका लागि अहिलेसम्म पुर्‍याएको योगदानका लागि धन्यवाद समेत दिएको छ ।

विश्वकपमा समूह ‘ई’ बाट प्रतिस्पर्धा गरेको स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले हराएको थियो । दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरीमा रोकिएको स्पेन समूहको अन्तिम खेलमा जापानसँग २–१ गोलले पराजित भएको थियो । स्पेन हारेपनि समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । तर अन्तिम १६ मा प्रशिक्षक एनरिकेको पेनाल्टीका लागि एक हजार गोलको तयारी फिका सावित भयो ।

पेनाल्टीमा कुनैपनि खेलाडीले गोल गर्न नसकेपछि ५२ वर्षीय एनरिकले स्वदेश र विदेशमा आलोचना खेपिरहनु भएको छ । सन् २०१८ को विश्वकप पछि स्पेनको प्रशिक्षक बन्नुभएका एनरिकलाई कतार विश्वकपको अन्तिम १६ को खेलअघि खेलाडीलाई एक हजार बलसम्म पेनाल्टी हान्न गराएको अभ्यास एक खालको धोका भएको छ ।

तपाईको प्रतिक्रिया