सिर्जनालाई विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण

  मंसिर २३, २०७९

काठमाडौं, मंसिर २३ : नेपालकी सिर्जना घिसिङले साउदी अरबमा आयोजना भएको विश्वक पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक जित्नुभएको छ । रियादमा बिहीबार राति भएको फाइनलमा सिर्जनाले ५२ केजी तौल समूह मुनि के–४४ स्पर्धामा स्वर्ण जित्नुभएको हो ।

फाइनल भिडन्तमा सिर्जनाले टर्कीकी मेर्यम बेटुल काभडारलाई १२–० अंकले हराउनुभयो । मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुनुहुन्छ । यसअघि सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वार्टरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराउनुभएको थियो ।

 

विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सिर्जनाले जितेको यो पहिलो स्वर्ण हो । सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटीओ प्रेसिडेन्ट कपमा रजत पदक जित्नुभएको थियो । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालबाट सिर्जना र पलेशा गोवद्र्धनले भाग लिनुभएको थियो ।

५७ केजी मुनि तौलमा सहभागी पलेशा क्वार्टरफाइनलबाटै बाहिरिनुभएको टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो । ग्रान्ड प्रिक्समा विश्व वरीयताको शीर्ष १६ मा रहने खेलाडीको मात्र भाग लिन पाउने ब्यवस्था छ ।

हाल सिर्जना १४औं र पलेशा १०औं स्थानमा हुनुहुन्छ  । यस जितसँगै सिर्जनाको वरीयतामा सुधार हुनेछ । विश्व वरीयताको शीर्ष ६ मा रहने खेलाडीले सोझै पारा ओलम्पिक गेम्ममा छनोट हुने प्रावधान छ । सिर्जनालाई ओलम्पिक खेल्न अझै ठूला प्रतियोगिता जितेर वरीयतामा सुधार गर्नु पर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया