नामिबियालाई नेपालको एक सय ९८ रनको लक्ष्य

  मंसिर १६, २०७९

काठमाडौं, मंसिर १६ : आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियालाई जितको लागि एक सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार दिउँसो सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाउनुभयो । यससँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा सर्वाधिक ६ वटा अर्धशतक बनाउने खेलाडी बन्नुभएको छ । ज्ञानेन्द्रपछि नेपालबाट आसिफ शेख र रोहित पौडेलको नाममा पाँच पाँच वटा अर्धशतक छ ।

आरिफ शेखले २३, आशिफ शेखले २०, अर्जुन साउद र गुल्सन झाले समान १८/१८, कुशल भुर्तेलले १३ तथा कप्तान रोहित पौडेल र सोमपाल कामीले १०/१० रन बनाउनुभयो । बलिङमा नामिबियाका ताङमेनी लुङ्गामेनीले तीन विकेट लिनुभयो । कार्ल बिर्केन्स्टोकले दुई तथा जेजे स्मित, बेर्नाल्ड स्कोल्ज र जेरार्ड इरस्मुसले एक एक विकेट लिनुभयो ।

नेपाल आजको खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । एकदिवसीय विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिएको यस सिरिजमा नेपाललाई सबै खेल महत्त्वपूर्ण रहेको छ । मङ्सिर २२ गतेसम्म सञ्चालन हुने यस सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्यान्ड रहेका छन् ।

सात टोली सहभागी यस सिरिजमा ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली आगामी वर्ष आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न पनि शीर्ष पाँचमा रहनु पर्नेछ । नेपाल अहिले सिरिजको छैटौँ स्थानमा छ । सिरिजमा २० खेल सकेको नेपालले १७ अङ्क बनाएको छ ।

तपाईको प्रतिक्रिया