नेपालगञ्ज, कात्तिक २८ : बाँकेको जानकी गाउँपालिका वडा नं ३ स्थित इन्द्रपुरको लोपोन्मुख कुशबधिया बस्ती विकासको पर्खाइमा रहेको छ ।
नेपालगञ्ज बजार र गाउँपालिकाको बजार नजिकै रहेको कुशबधिया बस्ती विकासको अवसरबाट बञ्चित रहेको छ । उक्त बस्तीमा खानपिन र रहनसहन परम्परागत अवस्थामा रहेको छ ।
“हामीलाई यो ठाँउको पनि विकास भए खुसी हुन्थ्यौँ”, जानकी गाउँपालिका–३ निवासी इदु कुशबधियाले भन्नुभयो, “वर्षौंदेखि भोट हाले पनि हाम्रो समुदायमा कुनै परिवर्तन भएको छैन ।”
स्थानीय ६७ वर्षीय कसबधियाले आफूहरुको अवस्थामा हिजोभन्दा खासै सुधार आउन नसकेको बताउनुभयो । “म हिजो जस्तो अवस्थामा थिएँ, अहिले पनि त्यस्तै अवस्थामा छु”, उहाँले भन्नुभयो, “चुनावमा सडकबाट हिँडिरहेको देखिएको छ तर हामीसँग घरघरमा आएर भोट मागेका छैनन् ।”
उहाँले गाँस, बास र कपासको बढी समस्या भएको उल्लेख गर्दै भन्नुभयो, “न त व्यापार, व्यवसाय चलेको न कुनै रोजगारी छ ।”
कुशबधियाले झातो र सिलौटा बनाउन भारतबाट भारु १०० मा ढुङ्गा किनेर ल्याउने गरेको र सो ढुङ्गाको भारु १०० प्रहरी बुझाउँदा त्यसबाट आफ्नो आयआर्जन हुन नसकेको बताउनुभयो ।
बाँकेको जानकी गाउँपालिक– ३ इन्द्रपुरस्थित कुसबधिया बस्तीका समुदायले ‘सिलौटा खोप्ने, डोरी बाट्ने र बजारमा बेचेर घरखर्च चलाउने गर्छन् । तर अहिले उनीहरुको सो व्यवसाय पनि राम्रोसँग चल्न नसक्दा घर गुजारा गर्न धौधौ भएको कुसबधिया बताउनुहुन्छ ।
सो स्थानकी २८ वर्षीया समरइया कुशबधियाले आफ्नो बस्तीमा पानीको पनि उचित व्यवस्था नभएको बताउनुभयो ।
“जसले हामीलाई खानेपानीको जोहो गरिदिन्छ त्यसैलाई भोट हाल्छौँ”, उहाँले भन्नुभयो । बस्तीमा भएका चार वटा चापकल ९धारा० मध्ये तीन वटा सामुदायिकरुपमा स्थापना भए पनि एउटा चापकल ९धारा० आफ्नै समुदायको मेहनत र श्रमबाट बनेको बताउनुभयो ।
समरइया कुशबधियाले आफ्ना बालबालिकाले मातृभाषामा पढाइ नभएका कारण बीचमा नै विद्यालय छाड्ने गरेको बताउनुभयो । उहाँले शिक्षालाई सरल र सहज बनाउनुपर्ने माग गर्नुभयो । “सानो कक्षामा हुञ्जेलसम्म पढ्छन् ठूलो भएपछि भाषाको समस्याले पढ्न छाडदिन्छन”, उहाँले भन्नुभयो ।
इन्द्रपुरगाउँमा रहेको ऐलानी जग्गामा बसेका दुई बस्तीमा ६३ परिवार कुसबधियाको बसोबास छ । उनीहरूको सबैभन्दा ठूलो पिरलो आफ्नै जग्गा, जमिन नहुँदा कुशबधिया समुदायसँग डोरी र सिलौटा बिक्री गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको छ ।
राष्ट्रिय जनगणना विसं २०६८ अनुसार, बाँकेको इन्द्रपुर, गनापुर र फुल्टेक्रा, मनिकापुरमा कुशबधियाको करिब पाँच सय ५२ जनसङ्ख्या रहेको छ । अधिकांशका घर झुपडी छन् । यसमध्ये सबैभन्दा बढी कुशबधिया समुदाय इन्द्रपुरमा रहेका छन् । तीमध्ये आगामी आमनिर्वाचनमा एक सय ५० जना मतदानमा सहभागी हुने बताइएको छ ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले लोपोन्मुख जातिका रुपमा रहेका कुशबधिया सुमदायलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत दुई सय ५० घरपरिवारलाई मासिक रु चार हजार र आठ बालबालिकालाई बालपोषण कार्यक्रमअन्तर्गत अनुदान दिइएको बताउनुभयो ।
उहाँले लक्षित वर्गलाई सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा र स्वास्थ्यको प्रबन्ध भएको उल्लेख गर्दै आवास नभएका परिवारलाई आवासमा समेत सहयोग गरिने कार्यक्रम रहेको बताउनुभयो ।
“कुशबधिया समुदाय बच्चाले जन्मनेबित्तिकै लोपोन्मुख जातिकारुपमा भत्ता पाउछन्”, प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो ।
नेपाल सरकारले आर्थिकरूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हकको व्यवस्था गरेको छ ।






