व्यावसायिक भइरहेका छन् रङ्गमञ्चपुस्ता

  कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् ।

डिजिटल प्लेटफर्महरूको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पुस्ताका कलाकारमा देखिन थालेको छ ।

प्रायः फिल्ममा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँ पुस्ताका कलाकार भने मेहनती देखिन थालेका छन् । प्रदीप खड्काले ‘प्रकाश’, अनमोल केसीले ‘छड्के २’, स्वस्तिमा खड्काले ‘चिसो मान्छे’, आँचल शर्माले ‘झिँगेदाउ’ मा निर्वाह गर्नुभएको भूमिकाको चर्चा भयो ।

यस्तै चर्चा केही अगाडि रङ्गमञ्च हुँदै फिल्ममा उदाएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीको हुने गर्थ्यो । यद्यपि पछिल्लो समय उहाँहरू कलात्मकभन्दा पनि व्यावसायिक बढी भएको आरोप लाग्ने गरेको छ ।

नयाँ पुस्ता चरित्र निर्माणमा गम्भीर भएर पेसाप्रति लगनशील हुँदा रङ्गमञ्चबाट उदाएको पुस्ताले झनै सशक्त हुनुपर्ने हो । पारिवारिक दायित्वबोध गरेर नै सङ्ख्यामा वृद्धि भएको अभिनेता सौगात मल्ल स्वीकार्नु हुन्छ ।

“मैले अभिनयसँगै आफ्नो पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने भएकाले सङ्ख्या बढाएको हुँ । सुरुआतमै कुनै कथा बेकार हुँदैन । निर्माणकै क्रममा समस्या भने आउँछ”, अभिनेता मल्लले भन्नुभयो, “मैले पहिला आफ्नो भूमिका मात्र हेर्थेँ तर अहिले पूरै कथा पढ्छु । केही फिल्म सम्बन्धकै कारण पनि गरेको छु ।“

चरित्रमा गर्ने मेहनतले चिनिएका कलाकार हुनुहुन्छ, विपिन कार्की । पात्रमा बाँच्ने अभिनेता कार्की लूट, छड्के, पशुपति प्रसाद, जात्रा, नाका, हरि, प्रसाद, सेल्फी किङ्ग जस्ता फिल्ममार्फत स्थापित हुनुभएको हो ।

आफूले पाउने भूमिकालाई पर्दामा जीवन्त उतार्ने भएकाले नै उहाँलाई चरित्र प्रधान फिल्ममा निर्माता तथा निर्देशकले खोज्ने गरेका छन् । थिएटर हुँदै फिल्ममा आउनुभएका अभिनेता कार्कीको सङ्घर्ष कम छैन ।

अभिनय र चरित्रका लागि आफूलाई समर्पण गर्ने अभिनेता कार्कीलाई पछिल्लो समय व्यावसायिक भएको आरोप लाग्ने गरेको छ । पात्र, कथाभन्दा पनि आफ्नो पारिश्रमिक हेर्ने गरेको आरोपलाई अभिनेता कार्की भने स्वीकार्नु हुन्न ।

“फिल्म निर्माणको उद्देश्यअनुसार मैले डिमाण्ड गर्ने गरेको छु । तपाईंको उद्देश्यनै पैसा कमाउने छ भने मैले पारिश्रमिक भन्न किन नपाउने रु”, अभिनेता कार्की भन्नुहुन्छ, “मैले एक लाख पारिश्रमिकमा हालै पनि फिल्म गरेको छु ।

त्यसैले मलाई व्यावसायिक मात्र भएको भन्न मिल्दैन ।” उहाँको पारिश्रमिककै कारण केही फिल्मलाई समस्या नपरेको होइन । अभिनेता कार्कीको मुख्य अभिनय रहने फिल्म ‘प्रसाद २’ अझै छायाङ्कन हुनेमै अन्यौल छ ।

निर्माता सुभाष थापा कलाकारले पारिश्रमिक बजारअनुसार सन्तुलन गर्नुपर्ने बताउनुहुन्छ । “नेपाली बजारमा हुने आम्दानीको आधारमा पारिश्रमिक नभए फिल्म बनाउन आउँदो समयमा गाह्रो हुन्छ ।

कलाकारले बढी पारिश्रमिकभन्दा पनि सेयरमा बसेर फिल्म निर्माणमा सघाउनु पर्छ”, निर्माता थापाले भन्नुभयो, “पारिश्रमिककै कारण अहिले दुई करोडभन्दा कममा फिल्म बन्न सकेको छैन । हामीलाई लगानी गर्न निकै अप्ठ्यारो भइरहेको छ ।”

तपाईको प्रतिक्रिया