लोकतान्त्रिक–वाम गठबन्धन स्याङ्जाद्वारा सामूहिक प्रतिबद्धता

  कार्तिक २७, २०७९

वालिङ, कात्तिक २७ : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक–वाम गठबन्धन स्याङ्जाले सामूहिक प्रतिबद्धता जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी स्याङ्जाका प्रमुख तथा प्रतिनिधिसभाको आज बसेको बैठकले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट साझा र सामूहिक प्रतिबद्धता सार्वजनिक गरेको हो ।

पाँच दलका प्रमुखद्वारा हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रतिबद्धतामा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न यातायातका पूर्वाधार निर्माण गर्न सक्ने गरी पूर्वाधारमा सुधार गर्दै गुणस्तरीय पर्यटन व्यवसाय विस्तार गर्ने, पर्यटनलाई समृद्धिको आधार बनाउने, कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गरी आत्मनिर्भर हुनुका साथै निर्यात गर्ने, जडीबुटीको व्यावसायिक उत्पादन प्रशोधनमा जोड दिने, जनताको लगानी वृद्धि गरी ऊर्जा निर्यात गर्ने, शैक्षिक संस्थाको स्तरवृद्धि गरी बाहिरबाट यहाँ उच्च शिक्षा हासिल गर्न आउने वातावरण निर्माण गर्ने, आधुनिक स्वास्थ्य सुविधा प्रत्येक पालिकामा पु¥याउने, खेलमैदान निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिने रहेका छन् ।

सिद्धार्थ राजमार्गलाई दुई लेनमा स्तरोन्नतिका लागि पहल गर्ने, कालीगण्डकी, आँधीखोला, ज्याग्दीखोला, दरौँखोलामा आवश्यकताअनुसार हाइड्याम तथा करिडोरका लागि पहल गर्ने, स्याङ्जा–पोखरा सुरुङ मार्ग निर्माणका लागि पहल गर्ने, जिल्ला सदरमुकामबाट सबै पालिकाको केन्द्र जोड्ने सडकलाई १२ महिना सञ्चालन हुन सक्ने गरी स्तरोन्नति गर्ने, पालिका केन्द्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने, गरिब तथा पिछडिएको वर्ग समुदायको उत्थानमा विशेष कार्यक्रम सञ्चालन गर्ने, महिला सशक्तीकरणका लािग महिला शिक्षा र रोजगारीमा जोड दिने गरी प्राथमिकताका आधारमा प्रतिबद्धता सार्वजनिक गरिएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले जानकारी दिनुभयो ।

दलित तथा जनजातिलाई विशेष अवसर प्रदान गरी मूलप्रवाहीकरण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउन विशेष व्यवस्था गर्ने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने, पिछडिएका स्थानको विकासका लागि विशेष योजना कार्यान्वयनमा ल्याउने सामूहिक प्रण गरिएको उहाँले बताउनुयभो ।

लोकतान्त्रिक–वाम गठबन्धन सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षा, जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गरेको समावेशी सङ्घीय प्रजातान्त्रिक गणतन्त्रको सुदृढीकरण, समावेशी, सहभागितात्मक तथा सन्तुलित विकास र समृद्धिप्रतिको जनचाहना पूरा गर्नका लागि भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति स्याङ्जाका संयोजक प्रकाश न्यौपाने (किरण) ले बताउनुभयो । गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने प्रतिबद्धता उहाँले दोहो¥याउनुभयो ।

स्याङ्जामा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रस्तुत प्रत्यक्ष उम्मेदवारलाई पार्टी निर्णयअनुसार र समानुपातिकतर्फका उम्मेदवारलाई आआफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्न पनि सामूहिक आह्वान गरिएको छ ।

नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण सङ्घर्षबाट हासिल भएको उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनस्तर उकास्न, मुलुकको समृद्धिको यात्रालाई द्रुत गति प्रदान गर्न र नेपालको शिर अन्तर्राष्ट्रिय जगत्मा उच्च स्थानमा राख्नका लागि पाँच दलीय गठबन्धन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया