सुर्खेत, असोज १५ :
‘ती पल्ला घरे लाहुरे दाइले
को कोसेली बाँड्दैछन्
लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै
भित्र र बाहिर गर्दैछिन्…’
चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दशैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दशैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशैँ ।
अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दशैँ घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो । अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दशैँ घर फर्किने चाडका रुपमा स्थापित भयो ।
दशैँ नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलानबाट लाहुरे दशैँमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दशैँमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ ।
दशैँ गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दशैँलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दशैँमा घर फर्किन्छन् ।
रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दशैँमा गाउँघर भरिभराउ हुन्छन् । यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दशैँ स्थापित भएको छ । यस वर्षको दशैँ सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दशैँको रौनकता पनि सुरु भइसकेको छ ।
हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दशैँमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर, श्रमिक दशैँमा घर फर्किन्छन् नै । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दशैँलाई नेपालीको प्रमुख चाड पनि हो ।
नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दशैँ राष्ट्रिय चाडकै रुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ । यसैले पनि दशैँमा गाउँ फर्किने सङ्ख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दशैँमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन ।
जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भन्नुभयो, “मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दशैँको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दसैको बेला रौनक छाउँछ ।”
मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफू दशैँ मान्नकै लागि भारतबाट फर्किएको बताउनुभयो । उहाँलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उहाँको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उहाँ मात्रै गाउँ फर्किनुभएको छ ।
बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दशैँ मान्न एक्लै घर फर्किएको बताउँदै उहाँले बताउनुभयो, “वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।”
कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउनुहुन्छ । उहाँले दशैँलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भन्नुभयो, “अर्को वर्ष दशैँमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दशैँमा घर फर्किनैपर्छ ।”
रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेसिएकाहरू एकैपटक दशैँमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ ।
सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दशैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दशैँ, तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् ।
यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दशैँ मान्न छर फर्किरहेका छन् । परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।
दशैँमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दशैँमनाएर भारत फर्किहाल्ने बताउनुहुन्छ । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किनुभयो । उहाँले गाउँकै चार जना साथीहरू दशैँ मनाउन भारतबाट आएको बताउनुभयो । “दशैँ मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।” दशैँ तिहार नजिकिएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ ।
परदेशिएका गाउँका युवासँगै पढाइ तथा रोजगारीको लागि घर बाहिर रहेका पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताउनुभयो । घर बाहिर रहेका गाउँघरमा फर्किएसँगै स्थानीय बजारमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताउनुभयो ।
दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत जानुभएको थियो । उहाँ पनि अहिले गाउँ फर्किनुभएको छ । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उहाँ भारत जानुभएको थियो । “यसपाली खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए”, खत्रीले भन्नुभयो ।
रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दशैँ मान्न घर फर्किनुभएको छ । परदेश गएका मात्रै होइन दशैँका लागि तराईबाट पहाड आउने उक्लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ । अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् ।
रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उहाँले बताउनुभयो । दशैँका लागि घर फर्कनेहरु लर्को लागेको बताउनुहुन्छ, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा । “अहिले अग्रिम टिकट काट्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वका समयमा यात्रुहरुको चाप उच्च हुने भएकाले सीट मिलाउनै समस्या छ । जसले गर्दा यात्रुलाई एकदिन अगाडि नै टिकट लिन भनेका छौँ ।”
यतिबेला गाउँ जानेको चापले गाडीको टिकट पाउनै मुस्किल छ । मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा टिकटका लागि पुगेका जुम्लाका शेरबहादुर शाहीले टिकट नै नपाएको गुनासो गनुर्भयो । दैलेखको डुङ्गेश्वरका डम्मर भण्डारी पनि टिकट नपाएर बसपार्कमा निराश अवस्थामा देखिनुहुन्थ्यो ।
यातायात व्यवसायीका अनुसार यात्रुको चाप बढेकाले टिकटमा केही समस्या छ । सुर्खेतबाट कर्णालीका अन्य जिल्लाका लागि छुट्ने गाडीहरूमा एकदिनअगावै टिकट काट्ने गरिएको छ । मध्यपश्चिमाञ्चल यातायात सेवा सुर्खेत प्रालि सचिव नारायण चपाईले जानकारी दिनुभयो ।
संस्कृति बदलियो, विकृति बढ्यो
मीठो मसिनो खाने, कमेरोले घर सिंगार्ने (रङ्ग्याउने), शुभकामना आदानप्रदान गर्ने, चङ्गा उडाउने, पिङ खेल्ने, दुर्गा भक्तिपूजा गर्ने, मान्यजनसँग आर्शीवादको टीका थाप्ने आदि दशैँका विशेषता हुन् । तर दशैँविस्तारै फेरिँदै गएको छ । भकारीमा अन्नबाली भित्र्याएसँगै भित्रिने दशैँ अहिले तयारी सामान भित्र्याएर सुरु हुन्छ ।
लोप हुँदै गएको दशैँको संस्कृतिसँगै दशैँका बेला आकाशमा चङ्गा उड्न छाडेका छन्, गाउँघरमा रोटे र लिङ्गे पिङ पनि लोप हुँदै जानुलाई सांस्कृतिक विचलनको नाम दिन्नुहुन्छ, सङ्गीत तथा संस्कृतिकर्मी कुलमान नेपाली । समय परिवर्तनसँगै संरक्षण गर्नुपर्ने संस्कृति भने विस्तारै लोप हुँदै गएको उहाँको भनाइ छ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ निवासी नेपाली भन्नुहुन्छ, “हाम्रो संस्कृतिसँगै दशैँको इतिहास नै खतराउन्मुख रहेको छ । हामी यसतर्फ सचेत बनेका छैनौँ । दशैँ तथा अन्य नेपाली चाडपर्वका संस्कृतिलाई जोगाउन पुराना परम्परा र चलनहरुको निरन्तरता जरुरी छ ।”
शक्ति र हतियारको पूजा गरी मनाइने दशैँ नेपालीहरूको मौलिक चाड भएको उहाँ बताउनुहुन्छ । “दशैँ हाम्रो सांस्कृतिक विरासत बोकेको चाड हो”, नेपाली भन्नुहुन्छ, “हरेक स्थानमा हरेक क्षेत्रमा केही न केही विकृति हुन्छन्, दशैँमा पनि केही विकृतिहरु बढ्दै गएका छन्, यसतर्फ हामी सचेत हुनुपर्छ ।”






