माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो : नेपाललाई थप दुई स्वर्ण

  असोज ०८, २०७९

कास्की, असोज ८ : पोखरामा जारी ‘तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप’ मा आज साँझसम्मको नतिजामा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

नेपालले दुई स्वर्ण पदक हात जित्दा भारतले भने आठ स्वर्ण पदक जित्न सफल भयो । खेलनमा नेपालले ६३ केजी मुनी र ६८ केजी मुनीको तौल समूहमा स्वर्ण पदक हात पार्न सफल भएको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले बताउनुभयो ।

नेपालका तर्फबाट ६३ केजी मुनि तौल समूहको खेलमा रुपेश तामाङले स्वर्ण पदक जित्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने सुप्रिया गुरुङले स्वर्ण पदक दिलाउनुभयो । जुनियर तर्फको क्यूरोगीतर्फको इभेण्टमा भारतले भने आठ स्वर्ण पदक ल्याउन सफल भएको छ । त्यसैगरी दक्षिण कोरियाले तीन स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको सङ्घले जनाएको छ ।

यसअघि शुक्रबारको खेलमा नेपालले १० वटा स्वर्ण पदक हात पार्दा छिमेकी मुलुक भारत सात स्वर्ण पदक जितेको थियो । विजयी खेलाडीलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशसम्शेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याडमिन्टन हलमा खेल भइरहेका छन् । प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलङ्का, अमेरिका, बङ्गलादेश लगायतका १३ देशका एक हजार ४०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।

तपाईको प्रतिक्रिया