सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

  असोज ०५, २०७९

सुदूरपश्चिम, असोज ५ : धनगढी रङ्गशालामा यही असोज ८ गतेदेखि सुरु हुने ‘सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता २०७९’ को ट्रफी र खेल तालिका आज सार्वजनिक गरिएको छ ।

असोज १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने सातै प्रदेशका र एक घरेलु टोलीसहित आठ टोलीले प्रतिस्पर्धा गर्न लागेको आयोजक पिएएफ स्पोर्टस क्लबले जनाएको छ । प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

सार्वजनिक भएको खेल तालिकाअनुसार सुदूरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा मधेस प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम नीलो रहेका छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने जनाइएको छ । विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही रु १० हजार पाउँदा उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सहप्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहका छन् । ‘हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप’ भन्ने मुख्य नारा लिएर प्रतियोगिताको सुरुआत गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया