वर्षामा जलमग्न माइतीघर मण्डला क्षेत्र (फोटोसहित)

  भदौ २४, २०७९

काठमाडौं, भदौ  २४ : राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

मौसमविद् बासीका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । “अहिले काठमाडौँ उपत्यका र आसपास हल्का वर्षा भइरहेको छ, बागमती प्रदेशका धेरैजसो क्षेत्रमा पनि वर्षा भइरहेको छ, वर्षा अझै केही दिन जारी रहने देखिन्छ”, मौसमविद् बासीले भन्नुभयो ।

उपत्यकामा खण्डितरूपमा कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । सिंहदरबार, माइतीघर, पुतलीसडक, रत्नपार्क, त्रिपुरेश्वरलगायत क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ । देशभरको वर्षा र तापक्रमको विवरण महाशाखाले हरेक दिन बिहान र बेलुका सार्वजनिक गर्ने गरेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

वर्षापछि बागमती, मनोहरा, धोबिखोला लगायतका नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्र तथा खोलाकिनारको बाटो यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशााखाले आग्रह गरेको छ । यतिबेला माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको थियो । माइतीघर जलमग्न हुँदा सिंहदरबार र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको महाशाखाले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया