फुटबलमा मुख्य सचिवको टोली विजयी

  भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहितका उच्चपदस्थ अधिकृत सम्मिलित टोलीले निजामती दिवसका अवसरमा आयोजित फुटबल खेल जितेको छ । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आज सातदोबाटोस्थित एन्फा कम्ल्पेक्समा आयोजित फुटबल प्रतियोगिता ३–१ को अन्तरले मुख्य सचिवको टिमले जितेको हो ।

मुख्यसचिवको नेतृत्वको टोली खरानी रङको जर्सी र निजामती सेवासँग सम्बन्धित ट्रेड युनियन पदाधिकारीको टिम निलो जर्सीमा प्रतिस्पर्धाका लागि खेल मैदानमा उत्रिएको थियो । एक घण्टा अवधिको उक्त प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मेडल प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिनुभयो । विनातयारी मैदानमा उत्रिए पनि कुनै पनि खेलाडीले नियम उल्लङ्घन गरेको भनी कार्ड बेहोर्नु परेन ।

मुख्यसचिवको नेतृत्वमा रहेको २५ सदस्यीय टोलीमा सात आठ सचिव, सात सहसचिव र अरु उपसचिव हुनुहुन्थ्यो । विसं २०१३ भदौ २२ गते निजामती ऐन जारी भएको दिनलाई विगतदेखि निजामती दिवसका रुपमा मनाइँदै आएको छ । निजामती प्रशासन जनताको सेवासँग जोडिएको प्रणाली हो । राष्ट्रसेवक कर्मचारीलाई खेलकुद क्षेत्रमा प्रेरित गरी सकारात्मक सन्देश प्रवाह गर्ने हेतुले आयोजना गरिएको प्रतियोगितामा खेलकुदका सम्पूर्ण नियम पालना गरी स्तरीय प्रदर्शनी गरिएको सचिव रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया