आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर : ऊर्जामन्त्री

  भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको हो ।

ऊर्जा मन्त्री भुसालले चालु आर्थिक वर्षमा नेपालमा विद्युत् आयातभन्दा विद्युत् निर्यात बढी भई नेपाल खुद विद्युत् निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘‘पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षभित्र देश पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुनेछ । चालु आर्थिक वर्षमा कुल विद्युत् आयातभन्दा कुल विद्युत् निर्यात बढी भई नेपाल खुद विद्युत् निर्यातकर्ताको रूपमा पुग्ने अवस्था देखिएको छ ।’’

नेपालले भारतको इनर्जि एक्सचेन्ज बजारमार्फत ३६४ मेगावाटसम्मको विद्युत् खरिद बिक्री गर्ने गरेको मन्त्री भुसालको भनाइ छ । भुसालले विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने विद्युत् भारु ५ रुपियाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताउनुभयो ।‘‘नेपालले भारतको इनर्जि एक्सचेन्ज बजारमार्फत ३६४ मेगावाटसम्मको विद्युत् खरिद बिक्री गर्ने गरेको छ ।

रुस र युक्रेनको युद्धको कारण समग्र विश्व बजारमा विद्युतको मूल्य बढेको छ । ९ डिसेम्बरदेखि जुन १ गतेसम्म निर्यात गरेको विद्युत् भारु ४ रुपियाँ ९५ पैसा प्रति युनिट  छ भने जुन २२ देखि सेप्टेम्बर २२ सम्म भारतमा निर्यात गरिएको विद्युतको मूल्य भारु ५ रुपियाँ ७१ पैसा प्रति युनिट छ । विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको थियो ।’’ उहाँले भन्नुभयो ।

विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा तीन अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको पनि मन्त्री भुसालले बताउनुभयो । चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८४ करोड विद्युत् निर्यात गरेको छ । विद्युत् निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्नेछ ।

मन्त्री भुसालले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८४ करोड विद्युत् निर्यात गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको छ । यसबाट भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान गर्ने देखिन्छ ।’’

मन्त्री भुसालले नेपालले वार्षिक रूपमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताउनुभयो । अहिलेसम्म विद्युत् खरिद बिक्री सम्झौता र विद्युत् उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको उहाँको भनाइ छ ।

मुलुकमा विद्युत् जडित क्षमता दुई हजार २ सय मेगावाट पुगेको छ । मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भन्दै चालु आर्थिक वर्षमा करिब ८ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताउनुभयो ।

जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण देखिएको छैन । मन्त्री भुसालले  जलविद्युत उत्पादनलाई तीव्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया