चितवन, २४ कात्तिक : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा आएको छ ।
सोमबार राति पुनः सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग लामो प्रयासपछि सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति ११ः१० बजे सडक माथिबाट पहिरो खसेपछि दुईतर्फी यातायात अवरुद्ध भएको थियो ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । यसअघि सोमबार बिहान साढे ५ बजे पनि सोही स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । करिब आठ घण्टाको प्रयासपछि दिउँसो २ बजे सडक सञ्चालनमा ल्याइएको थियो ।
घोप्टेभिर क्षेत्रमा लगातार पहिरो खस्दा तीन दिनदेखि पृथ्वी राजमार्गको यातायात प्रभावित हुँदै आएको छ । पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्याले यात्रु तथा सवारीचालकले सास्ती खेप्नुपरेको छ । सडक सञ्चालनमा आए पनि पुनः पहिरो खस्न सक्ने जोखिम कायमै रहेकाले यात्रु र सवारीचालकमा चिन्ता देखिएको छ ।






