खेलकुदमा राजनीति नगरौँ : खेलकुद मन्त्री

  भदौ २२, २०७९

काठमाडौं, भदौ २२ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल सङ्घको नवौँ चुनावी साधारण सभाको उद्घाटन गर्नुहुँदै  मन्त्री अथकले सहमतिबाट सङ्घको नयाँ नेतृत्व चयन गर्नसमेत आग्रह गर्नुभएको छ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा बुधबारदेखि सुरु भएको भलिबल सङ्घको साधारणसभाको उद्घाटन गर्नुहुँदै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल सङ्घ खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको हो।

खेल क्षेत्रको संस्थागत विकासको अभिभारा बोकेका खेल सङ्घमा देखिएको राजनीतिक विचलनतर्फ लक्षित गर्नुहुँदै मन्त्री अथकले भन्नुभयो, “तपाईँहरू खेलकुदमा केन्द्रित हुनुहोस्, राजनीति गर्ने त विभिन्न पार्टी छदैंछन् नि।’’

नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रूपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागि परेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गर्नुभयो।

खेलाडीको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको व्यवस्था गरेको र मन्त्रिपरिषदबाट समेत अनुमोदन भइसकेको उहाँको भनाइ छ। मन्त्री अथकले अब कुनै पनि खेलाडीको मिहेनत खेर जान नदिने प्रतिबद्धता समेत जनाउनुभयो। राज्यको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको सहजताका लागि विशेष पासपोर्टको व्यवस्था गर्नेबारे समेत छलफल भइरहेको उहाँको भनाइ छ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको छ।

तपाईको प्रतिक्रिया