हनुमानढोकामा इन्द्रध्वजोत्थान : इन्द्रजात्रा विधिवत् रुपमा सुरु

  भदौ २२, २०७९

काठमाडौँ, भदौ २२ : हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ७ः१७ बजेको साइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रा पनि सुरु भएको छ ।

दरबार क्षेत्रमा आज इन्द्रध्वजोत्थान गरिएसँगै यही भदौ २४ गते शुक्रबार मुख्यरुपमा यात्रा सुरु गरिन्छ । जात्राको मुख्य दिन तल्लो टोलमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा चलाइन्छ । भदौ २५ गते शनिबार माथिल्लो टोलमा रथयात्रा गरिन्छ ।

भदौ २९ गते बुधबार नानिचा यात्रा गरिन्छ । त्यसै दिन बेलुकी ७ः३३ बजे इन्द्रध्वनपातनको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसै दिन इन्द्रध्वजपातन गरेपछि राष्ट्राध्यक्षले हनुमानढोका दरबार पुगी श्रीकुमारीबाट इन्द्रजात्राको प्रसाद ग्रहण सांस्कृतिक परम्परा रहिआएको छ ।

सांस्कृतिक पर्यटनका प्रमुख आकर्षण इन्द्राजात्रा : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनका लागि प्रमुख आकर्षण रहेको बताउनुभएको छ । काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा सुरुआतको अवसरमा आज हनुमानढोका पुग्नुभएका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगिन्ती मूर्त–अर्मूत संस्कृति र सम्पदाको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताउनुभयो ।

मुलुकको सांस्कृतिक धरोहरका रूपमा रहेको इन्द्रजात्राको काठमाडौँ उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उहाँले सुनाउनुभयो । नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउनुहुँदै उहाँले संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेकामा जोड दिनुभयो । सांस्कृतिक सम्पदाको प्रवद्र्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ छ ।

काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरुआत भएको मानिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन गरिन्छ । विभिन्न देवी–देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ । जात्रा पर्व सञ्चालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको थियो ।


तपाईको प्रतिक्रिया