गोदावरी र भक्तपुर फाइनलमा

  भदौ २१, २०७९

काठमाडौं, भदौ २१ : गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान ३–२ को सेटमा पराजित गरे ।

प्रतियोगिताको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने खेलाडीमा संयोग कपाली, रुविन महर्जन, शुभश्री श्रेष्ठ, वियन्का राई, इभाना थापा मगर, प्रिन्स थापा र प्रज्ज्वल मानन्धर हुनुहुन्छ । उक्त प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा १ रजत र ४ कांस्य पदक जितेको थियो । शुभश्री र वियन्काले रजत जित्नभएको थियो । बाँकी खेलाडीले कांस्य हात पारेका थिए ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक ज्याकी महर्जनले जानकारी दिनुभयो ।

टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार राखिएको छ ।

पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय रुपियाँ पुरस्कार पाउने छन् । टिम च्याम्पियनलाई रनिङ सिल्ड प्रदान गरिने छ । पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको वडा ३ टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा ३ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया