दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

  साउन २९, २०७९

काठमाडौं, साउन २९ : साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई साउन २६ गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।

आइतबार एक कार्यक्रमबीच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामना सहित नयाँ जिम्मेवारीको पत्र प्रदान गर्नुभएको थियो ।

श्रेष्ठलाई सोही मितिदेखि लागु हुनेगरि तालिम तथा प्रशिक्षण विभागमा रहि कामकाज गर्ने गरि पत्र प्रदान गरिएको छ । सो अवसरमा उपनिर्देशकद्वय हिमाल दाहाल र प्रचण्ड शर्माले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरिएको थियो । श्रेष्ठलाई नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ “बोस” ले पनि बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

२०५४ सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गर्नुभएका श्रेष्ठ २०६१ सालमा स्थायी हुनुभएको थियो । ललितपुर जिल्ला खेलकुदल विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया