भानु कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

  असार २०, २०७९

दमौली, असार २० : दुई सय नवौँ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–१ भन्सारमा आजदेखि राष्ट्रिय खुल्ला नकआउट भानु कप फुटबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा आचार्यको जन्मनगरमा भानुकप फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैैरेनी गाउँपालिका–४ स्थित पुलजीप युवा क्लब विजयी भएको छ । भानु नगरपालिका–२ स्थित ब्राइट फ्युचर युवा क्लब र पुलजीप युवा क्लबबीच भएको खेलमा पुलजीप १–० अन्तरले विजयी भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जयन्तीलाई कुनै न कुनै कार्यक्रमको माध्यमबाट सम्झिनुपर्ने बताउँदै भानु जयन्ती नयाँ ढङ्गबाट मनाउने सोचमा नगरपालिका रहेको बताउनुभयो ।

भन्सारस्थित फुटबल खेल मैदानमा सुरु भएको प्रतियोगितामा ३० समूहको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त काठमाडौँ, पोखराका क्लबको पनि सहभागिता रहेको छ ।

असार २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेतालाई नगद रु दुई लाख प्रदान गरिनेछ । उपविजेता समूहले रु एक लाख प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीलाई पनि नगद रु २०-२० हजार प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, अनुशासित समूहलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

क्लबले भानु जयन्तीकै अवसरमा छेलो र बाघचाल प्रतियोगिता आयोजना गरेको छ । छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार प्रदान गरिनेछ भने बाघचाल प्रतियोगितामा प्रथम हुनेलाई नगद रु छ हजार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया