आलापोटका अतिविपन्न किसानलाई पाडी वितरण

  असार १७, २०७९

काठमाडौँ, असार १७ : कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका अतिविपन्न किसानलाई पाडी वितरण गरिएको छ । आलापोटमा आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र ललितपुरले १८ वटा पाडा वितरण गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले किसानका लागि सहयोग कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ ख का १० वडाका अतिविपन्न किसानका लागि विनियोजित रु ५० लाखबाट पाडापाडी, बाख्रा र बङ्गुर वितरण गरिएको बताउनुभयो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटदेखि ‘भैँसी हुन कालो सुन’ भन्ने नाराका साथ कार्यक्रम सुरु गरेको उहाँले जानकारी दिनुभयो । किसानको छनोट सम्बन्धित वडा समितिले गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । वितरण गरिएका पाडाको बीमासमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया