विपद् न्यूनीकरणका लागि तीनै तहको सरकारबीच सहकार्य आवश्यक’

  असार १७, २०७९

जनकपुर, असार १७ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको पूर्वी किनारामा आज मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय विपद् प्रतिकार्य तयारी कृत्रिम अभ्यास कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री राउतले तीनै तहको सरकार बीच समन्वय र सहकार्य गरी अघि बढ्न सके विपद्बाट वर्षेनी हुने धनजनको क्षतिमा न्यूनीकरण हुने बताउनुभयो ।

“नदीको उत्खनन र चुरे दहनका कारण तराई मधेसका जिल्ला विपद्को उच्च जोखिम छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “बाढीपहिरो जस्ता विपद्का कारण वर्षेनी ठूलो धनजनको क्षति हुँदै आएको छ, यसलाई नियन्त्रण गर्न तीनै तहको सरकार सामूहिक रुपमा अघि बढ्नु जरुरी छ ।”

प्रदेश सरकारले विपद्सम्बन्धी काम गर्ने छुट्टै संयन्त्र निर्माण गर्ने जानकारी दिनुहुँदै मुख्यमन्त्री राउतले छिट्टै संयन्त्र बनाइ त्यसमा सिइओ नियुक्त गरी विपद् रोकथाम र न्यूनीकरणसम्बन्धी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीजन्य प्रकोपका कारण वर्षेनी हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कमला नदीमा प्रदेशस्तरीय विपद् प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेका थिए ।

कमला नदीलाई प्रतिकात्मक रुपमा विभिन्न भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले हेलिकप्टर, लाइफ ज्याकेटलगायत सामग्रीको सहायतामा विपद्मा परेकाहरुको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो । विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने ?

बाढीमा फसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने ? घाइतेहरुको प्राथमिक उपचार कसरी गर्ने ? उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने ? विपद्का बेला के के कुरामा ध्यान दिनेलगायत विषय वस्तुलाई समेटेर सुरक्षाकर्मीले विपद् पुर्वाभ्यास प्रस्तुत गरेका थिए ।

सो अवसरमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, धनुषा र सिरहाको विभिन्न पालिकाका प्रमुख, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया