न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र

  असार १७, २०७९

देउखुरी, असार १७ : घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा असार १५ सम्म २१८ उजुरी मिलापत्र गराएको जनाएको छ । गत आवको जिम्मेवारी सरेर आएका १०५ र नयाँ दर्ता भएका १३४ सहित २३९ मुद्दा दर्ता भएकोमा अधिकांश उजुरी मिलापत्र भएको न्यायिक समिति संयोजक एवं उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिनुभयो ।

आव २०७८÷७९ को साउनदेखि असार १५ सम्म न्यायिक समितिले गरेका कामबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा न्यायिक समिति संयोजक डिसीले हाल २१ उजुरी प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, जग्गा रोक्कासम्बन्धी उजुरी पर्ने गरेको छ । घरायसी विवाद वा कुनै शङ्का लागेमा परिवारजनबाटै उजुरी गर्न आउने गरेकाले अरु विषयमा भन्दा जग्गा रोक्कासम्बन्धी उजुरी धेरै मात्रामा पर्ने गरेको छ ।

जग्गा रोक्काका १२९ उजुरी परेकोमा १२८ मिलापत्र भइसकेको छ । जग्गा विवादका ५० उजुरी परेकोमा ४० मिलापत्र भएको र १० प्रक्रियामा रहेका, अन्य शीर्षकमा पनि २४ उजुरी परेकोमा १८ मिलापत्र भएको तथा ६ प्रक्रियामा रहेको छ । लेनदेनका १४, कुलोपानीको तीन, मानाचामलको चार उजुरी परेकोमा सबै मिलापत्र भएको छ ।

तपाईको प्रतिक्रिया