जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता गलत : अध्यक्ष ओली

  असार १४, २०७९

काठमाडौँ, असार १४ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबज : राष्ट्र निर्माणको आधार’ विषयक गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र न्याय र समानतामा आधारित व्यक्ति र समाजको जीवन पद्धति भएकाले यसलाई समाजमा स्वीकृति स्थापित गर्ने साधनका रुपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।

नेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को सार पनि त्यही भएकामा जोड दिँदै उहाँले जनता र समाजमा रहेका वर्ग, चिन्तन, पेसा, व्यावसाय, मनस्थिति र तिनका समाधानका उपायको खोजी जबजमा रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले शान्तिपूर्ण र संवैधानिक बाटोबाट निहत्था जनतालाई सङ्गठित गर्दै समाज परिवर्तन र न्याय प्राप्तिका लागि जनताले सङ्घर्ष गर्दै आएको र त्यही माध्यमबाट परिवर्तन स्थापना गरेको सन्दर्भ उल्लेख गर्दै न्यायपूर्ण र सङ्गठित दबाबको सचेत प्रयासबाट मानव समाजभित्र रहेका विकृतिको अन्त्य गरी शान्ति र समृद्धि स्थापना गर्न सकिने बताउनुभयो ।

पुरस्कार प्रदान

कार्यक्रममा अध्यक्ष ओलीले फाउण्डेशनले सञ्चालन गरेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय, ललितपुरलाई प्रदान गर्नुभयो । दुवै पुरस्कारको राशि रु एक-एक लाख रहेको छ ।

सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पु¥याउनुभएको योगदानस्वरुप उहाँलाई पुरस्कृत गरिएको हो भने प्रेरणा माध्यमिक विद्यालयले उमेर र विपन्नताको कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने अभियानको नेतृत्व गरेकाले मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।

फाउण्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, शहीद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन, प्राडा सुबोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया