निर्वाचन आयोगको प्रदेशस्तरीय समीक्षा

  असार १२, २०७९

चितवन, असार १२ : निर्वाचन आयोगले बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आज यहाँ सम्पन्न गरेको छ । बागमती प्रदेशका जिल्लाहरू र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सरोकारवालाको उपस्थितिमा समीक्षा गरिएको हो ।

सो अवसरमा आयोगका आयुक्त सगुनशमशेर राणाले समीक्षा कार्यक्रममा प्राप्त सुझावलाई आयोगले कार्यान्वयनका लागि छलफलमा राख्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा पु¥याएको भूमिकाको आयोगले उच्च सम्मान गरेको भन्दै उहाँले अब हुने निर्वाचनमा त्यही ढङ्गबाट जुट्नुपर्नेमा जोड दिनुभयो । प्राप्त सुझावलाई केन्द्रीय तहमा समीक्षा गरेर बाधाव्यवधानहरू फुकाउँदै अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो ।

सोही अवसरमा आयोगका सहसचिव तुल्सीबहादुर श्रेष्ठले निर्वाचनको सम्पूर्ण गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीबाट पाँच समूह विभाजन गरेर स्थानीय तहको निर्वाचनमा भएका सबल पक्ष, भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरी सुझावसहित प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र मकवानपुरका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचन अधिकृत, राजनीतिक दलका नेता, नागरिक समाज, पर्यवेक्षक लगायतको सहभागिता रहेको थियो । अन्य जिल्लाबाट जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मतदाता नामावली, मतदाता परिचयपत्र, मतदान केन्द्र, मतदान प्रक्रिया, मतगणना तथा परिणाम, निर्वाचन कार्यक्रम, उम्मेदवारी मनोनयन लगायतका विषयमा छलफल र सुझाव दिइएको थियो ।

भरतपुर महानगरको नगरसभा सम्पन्न

भरतपुर महानगरपालिकाको एघारौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले नगरप्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत पाँच अर्ब ७४ करोड बराबरको बजेट पारित गरेको हो । नगरसभाले आर्थिक वर्ष ०७९-८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको छ ।

सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरेको छ । सभामा प्रमुख दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबैजना जनप्रतिनिधिको एक मात्र उद्देश्य र सङ्कल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने उहाँले बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यस पटकका जनप्रतिनिधिहरू सबै जना युवा समूहबाट भएकाले रचनात्मक कार्यका साथ भरतपुरको विकासमा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।

महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समाधानका लागि सधँै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । अहिले वडामा रु दुई करोड ५० लाखका दरले बजेट विनियोजन भए पनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने उहाँको भनाइ छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरू केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडाध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोल्नुभएको थियो । नगरसभा गत शुक्रबार सुरु भएको हो ।

तपाईको प्रतिक्रिया