जनमतलाई समाजवादको विकासमा उपयोग गर्छौं : पूर्वप्रम खनाल

  असार ०८, २०७९

काठमाडौँ, असार ८ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको जनमतलाई समाजवादको विकासमा उपयोग गरिने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाद्वारा पार्टीकातर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा नेता खनालले समाजवादी अर्थव्यवस्थाले मुलुकमा सामाजिक न्याय, समानता कायम गरी जनताको आर्थिकस्तर वृद्धिका साथै सामाजिक रुपान्तरण गर्न सकिने हुँदा जनप्रतिनिधिले असल भावना र जनसेवाको नमूना काम गरेर अघि बढ्न निर्देशन दिनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको बताउँदै गठबन्धनमा सिट बाँडफाँट न्यायोचित हुन नसक्दा पार्टीको मत संरक्षण गर्न नसकेको बताउनुभयो । कम मत आउनुको पछाडि केही आफ्ना कमजोरी भए पनि गठबन्धन दलकै अपमानले बढी काम गरेको भन्दै उहाँले अब हामीले देशव्यापी सङ्गठन निर्माण गरेर आगामी चुनावमा राम्रो सफलता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता खनालले निर्वाचन प्रणालीलाई परिवर्तन गरी निर्वाचनलाई कसरी सस्तो बनाउने भन्नेबारेमा समेत छलफल भइरहेको भन्दै ऐन नियम र संविधानलाई राम्रोसँग अध्ययन गरेर परिपक्व जनप्रतिनिधिका रुपमा काम गर्न निर्वाचित जनप्रतिनिधिलाई सुझाउनुभयो । उहाँले जनसरोकारका सवाल उठान गर्दै जनतासँग सुमधुर सम्बन्ध स्थापित गर्नेतर्फ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया