जिसस झापाको प्रमुखमा बरालको मात्र उम्मेदवारी

  असार ०७, २०७९

सुरुङ्गा (झापा), असार ७ : जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्व बरालको एक मात्र उम्मेदवारी परेको छ । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ताका क्रममा बरालको मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । दमक निवासी बरालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै उपप्रमुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट शान्ता रोक्काको मात्रै उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिमा एक÷एक जना प्रमुख र उपप्रमुख रहने व्यवस्था छ । दुई खुल्ला सदस्य, तीन महिला सदस्य र दलित वा अल्पसङ्ख्यकबाट एक सदस्य रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार सदस्य देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रीता नेपाली निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यालय झापाले भने औपचारिकरूपमा घोषणा गरेको छैन ।

झापामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकल बहुमत रहेकाले अन्य दलले उम्मेदवारी दर्ता गराएका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज मनोनयन दर्ता, बुधबार चुनाव चिह्न वितरण र दाबी विरोधको समय र पर्सि ९ गते मतदानसँगै विजयी घोषणा गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया