पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्य बढ्यो

  असार ०५, २०७९

काठमाडौं, असार ५ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी गरिएको मूल्यवृद्धिसँगै अब एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पु-याएको छ । त्यस्तै हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धनमा मूल्य बढे पनि यसपटक खाना पकाउने ग्याँसको मूल्य भने नबढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया