आइपीएल : रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा

  जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । मुम्बईस्थित वानखडे स्टेडियममा शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएपछि बेंगलोरले प्लेअफमा स्थान बनाएको हो ।

निर्णायक खेलमा दिल्ली जम्न सकेन । यस नतिजासँगै बेंगलोर १६ साथ तालिकाको चौथो स्थानमा रह्यो । जितको लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । मुम्बईका लागि ओपनर ईशान किशनले सर्वाधिक ४८ रन बनाउनुभयो। डेवाल्ड ब्रेभिसले ३७, टिम डेविडले ३४, तिलक बर्माले २१ र रमनदीप सिंहले १३ रन बनाउनुभयो । बलिङमा दिल्लीका शार्दूल ठाकुरले दुई र एनरिच नोर्कियाले दुई दुई तथा कुलदीप यादवको एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । दिल्लीका रोभम्यान पावेलले सर्वाधिक ४३ रन बनाउनुभयो । ऋषभ पन्तले ३९, ओपनर पृथ्वी साले २४, अक्षर पटेलले अविजित १९ र शरफराज खानले १० रन बनाउनुभयो । लिङमा मुम्बईका जस्प्रित बुमराहले तीन विकेट लिनुभयो ।  रमनदीप सिंहले दुई तथा मयंक मारकान्डे र ड्यानियल साम्सले एक एक विकेट झार्नुभयो ।

आइपीएलको पहिलो क्वालिफायरमा मङ्गलबार शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।  लिगमा गुजरात २० अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले १८, तेस्रो स्थानमा रहेको लखनऊले १८ र चौथो स्थानमा रहेको बेंगलोरले १६ अङ्क बनायो ।

तपाईको प्रतिक्रिया