स्थानीय तहको निर्वाचनका लागि देशभर आज मतदान

  बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।

देशभरका ७५२ स्थानीय तहमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।

निर्वाचनको क्रममा ३९० जना निर्विरोध निर्वाचित भएका छन् । १७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं. १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन । एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ८२ हजार दस पुरुष तथा १८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।

एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । आयोगले वैशाख २९ गतेलाई निर्दिष्ट मिति तय गरेको हुँदा चुनाव घोषणा भएको मितिपछि १८ वर्ष उमेर पूरा भएका करिब २३ हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचन २०७४ को अपेक्षा करिब ३६ लाख मतदाता थपिएका छन् । निर्वाचनका लागि दस हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दाङको तुलसीपुर नगरपालिकाको वडा नं. १७ मा समेत जेठ ३ गते नै मतदान हुनेछ ।महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका प्रत्याशी शुभावती कुर्मीको र दाङको वडा नं. १७ का वडा अध्यक्ष पदका प्रत्याशी लभरु चौधरीको निधन हुँदा दुवै स्थानमा जेठ ३ गतेका लागि मतदान सारिएको आयोगले जनाएको छ ।

करिब ४० अर्ब खर्च
अर्थ मन्त्रालयका अनुसार स्थानीय निर्वाचन २०७९ का लागि करिब १६ अर्ब रुपियाँ बराबरको स्रोत सुनिश्चितता र निकासा भएको छ । उक्त बजेट निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयले खर्च गर्नेछन् ।

निर्वाचन आयोगले करिब आठ अर्ब रुपियाँ खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरी खर्च भएबमोजिम निकासा गरिँदै आएको छ । रक्षा र गृह मन्त्रालयका लागि भने निर्वाचन सुरक्षा प्रयोजनका लागि करिब आठ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्च सीमा र उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा स्थानीय निर्वाचन २०७९ मा करिब ४० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया