स्थानीय तह निर्वाचन : मौन अवधि मङ्गलबार रातिबाट सुरु

  बैशाख २६, २०७९

काठमाडौं, वैशाख २६ : वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ ।

सोमबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिनुभएको छ ।

प्रवक्ता पौडेलले भन्नुभयो, ‘‘मौनअवधि वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुने तथा उम्मेदवार र उनीहरुका फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरुमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।’’

त्यस्तै, आयोगले मङ्गलबार राति १२ बजेबाटै मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

यसैगरी, आयोगले कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

मौन अवधिमा पालना गर्नुपर्ने आचरण
– राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मौन अवधिको पालना गर्नुपर्नेछ ।

– मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने ।

– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने ।

– कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

– सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन नहुने ।

तपाईको प्रतिक्रिया