गभर्नर महाप्रसाद अधिकारी निलम्बित, यस्ता छन् आरोप

  चैत २५, २०७८

काठमाडौँ, चैत २५ : सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एकजना सदस्यले राससलाई बताउनुभयो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन भइसकेको उहाँले बताउनुभयो ।राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा पर्नुभएको र उहाँको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको हो ।

मन्त्रिपरिषदले गभर्नरलाई पदमुक्त गर्दा जाँचबुझ समिति गठन गर्ने व्यवस्था ऐनमा छ । ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेमा, बैंकको काम कारबाहीमा बेइमानी र बदनियत गरेको देखिएमा, वा खराब आचरण भएमा पदमुक्त गर्न सक्ने’ व्यवस्था ऐन रहेको छ ।

 

तपाईको प्रतिक्रिया