तस्बिरमा रामजानकी विवाहपञ्चमी महोत्सव

  मंसिर १७, २०७८

धनुषा, मङ्सिर १७ : जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम छ । नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिनुभयो ।

नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालुको भक्तजनको भीडले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गर्दछन् । आजदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ । भोलि शनिबार फूलबारी लीला, मङ्सिर १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्यरुपमा मनाइने गरिन्छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल र भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया