दशैँका बेला सौराहाका होटल खचाखच भरिँदा व्यवसायीलाई राहत

  कार्तिक ०१, २०७८

सौराहा, कात्तिक १ : कोरोना कहरले लामो समयदेखि प्रभावित सौराहाको पर्यटन व्यवसायमा दशैँले केही राहत दिएको छ । दशैँका बेला सौराहाका होटल खचाखच भरिए । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया कोरोनाको कहरले थला परेका बेला दशैँमा भरिएका होटलले केही राहत दिएको बताउनुहुन्छ ।

“आन्तरिक पर्यटकले पनि पर्यटन व्यवसाय टिकाउन सकिन्छ भन्ने कुरा दशैँमा भरिएका पर्यटकले देखायो”, उहाँले भन्नुभयो, “पर्यटन व्यवसाय फस्टाउन र पनर्जागृत गराउन आन्तरिक पर्यटक प्रवद्र्धन गर्न सकेमात्रै हुने देखियो ।” ११० वटा होटल रहेका सौराहाका होटल दशैँ सुरु भएयता नियमितजसो भरिभराउ भएको पाइन्छ । सौराहाका रेस्टुरेन्टहरूमा पनि पर्यटक आवागमन बाक्लै रह्यो । विशेषतः काठमाडौँ पोखरालगायतका क्षेत्रबाट फुर्सदका बेला घुम्नकै लागि सौराहा आएको पाइयो । शनिबार साँझ सौराहामा परिवारसहित भेटिनुभएका पोखराका व्यवसायी शिवप्रसाद अधिकारीले नेपालीमा पनि घुम्ने बानी विकास भएको बताउनुभयो ।

“कामले व्यस्त हुने हामी फुर्सदका बेला हात्ती चढेर गैँडा हेरी रमाउन सौराहा आएका हौँ”, उहाँले भन्नुभयो । उहाँले सौराहाको प्राकृतिक सुन्दरता बचाइराख्न सक्ने हो भने पर्यटन थप आकर्षण गर्न सकिने धारणा राख्नुभयो । पोखराकै अर्का व्यवसायी दिपेश पौडेलले पनि परिवारसहित दशैँ छुट्टी सौराहामै बिताउनुभयो । आइतबार हात्ती सफारी सकेर फर्कनुभएका पौडेल गैँडालाई नजिकबाट देख्न पाएकोमा ज्यादै खुसी हुनुहुन्थ्यो । “वन र वन्यजन्तु हाम्रा सम्पदा हुन् यिनलाई बचाइराख्न सकियो भने मात्रै पनि पर्यटनको विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

सौराहामा होटल सञ्चालनमा आउन थालेसँगै घर बिदामा रहेका कर्मचारीहरू पनि क्रमशः काममा फर्कन लागेका छन् । “होटल कुर्ने कर्मचारी मात्रै राखेका थियौँ । अहिले होटल चल्न थालेपछि विस्तारै कर्मचारी पनि बोलाउन थालियो”, सौराहाका एक होटल व्यवसायीले भन्नुभयो । सौराहामा रहेका झन्डै पाँच हजार कर्मचारीमध्ये कोरोनाको कहरपछि अधिकांशले होटलबाट बिदाइ पाएका थिए । “बिदामा गएकामध्ये आधाभन्दा बढी कर्मचारी त काममा पनि फर्किसकेका छन्”, ती व्यवसायीले भन्नुभयो ।

ठगिएको गुनासो
पर्यटकको चाप केही बढेसँगै सौराहामा पर्यटन ठगिएका गुनासो पनि आउन थालेका छन् । सौराहाले आन्तरिक पर्यटन तान्न २० प्रतिशतसम्म छुटको प्याकेज घोषणा गरेको छ तर व्यवसायीले छुट नदिई भीडभाडको मौकामा थप ठगी गरेको आरोप पर्यटकको छ । “हामीले सौराहामा छुट छ भनेर सुनेका थियौँ तर रेस्टुरेन्टमा मेनु रेटभन्दा पनि बढी तिर्नु प-यो”, राप्ती किनारको एक रेस्टुरेन्टमा खाजा खाएका ग्राहकको गुनासो थियो । सौराहामा थारू सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने कल्चर हाउसमा पनि कोरोनाको जोखिम न्यूनीकरणका लागि खासै ध्यान दिएको पाइएन । कल्चर हाउसको हलभरि सयौँ मानिस भर्दा पनि सामान्य मास्क र सेनिटाइजर प्रयोगमा पनि ध्यान दिएको पाइएन । “यस्तो भीडभाडमा सामान्यतया सेनिटाइजर र मास्कको व्यवस्था त हुनुपर्ने हो तर त्यो भेटिएन”, एक पर्यटकको गुनासो थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा पर्यटकीय गतिविधि सञ्चालनका लागि स्वास्थ्य मापदण्ड अवलम्बन गरेर मात्रै सञ्चालन गर्न अनुमति दिए पनि सो कार्यान्वयन नभएको पर्यटकको गुनासो थियो । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव थपलियाले भने सौराहामा स्वास्थ्य मापदण्ड लागू नभएको र पर्यटक ठगिएको भन्ने कुरा गलत भएको दाबी गर्नुभयो । “स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै पर्यटकीय गतिविधि खुला गरिएको छ”, उहाँको दाबी छ । उहाँले कुनै पर्यटक ठगिएमा सीधै सङ्घलाई खबर गरे सम्बन्धित व्यवसायीलाई सचेत गराउँदै कारबाही गर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया