नलगाड आयोजनाको काम सुस्त

  कार्तिक ०१, २०७८

जाजरकोट, कात्तिक १ : जलाशययुक्त नलगाड आयोजना (४१७ मेगावाट)को विस्तृत परियोजना प्रतिवेदन डीपीआर आधा दशक बितिसक्दा पनि निर्माण हुनसकेको छैन । ऊर्जा मन्त्रालयले यसको म्याद परामर्शदाता कम्पनी स्मेकले भनेबमोजिम दुई पटक म्याद थपे पनि अझै पूरा गर्न सकेको छैन ।

परामर्शदाता कम्पनी स्मेकतर्फका आयोजना प्रमुख बाबुराम भारद्वाजले सेप्टेम्बरमा सक्ने भनेर म्याद थप भएकोमा अहिले धमाधम विभिन्न उत्खनन–परीक्षण कार्य भइरहेको जनाउनुभएको छ । डीपीआरको सम्झौताबमोजिमको कार्य सम्पन्न गर्नका लागि नयाँ कार्यतालिका पेस गरेको भारद्वाजले बताउनुभयो ।

सन् २०१६ मा अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले (संयुक्त उपक्रम)ले नलगाड आयोजनाको विस्तृत अध्ययन, टेन्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो । आयोजनाका कार्यकारी प्रमुख रामकाजी थापाले सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र स्मेक, एमडब्लूएच जेभी उदयबीच सम्झौता भएको जानकारी दिनुभयोे । हालसम्म परियोजनाको कार्य ८५ प्रतिशत पूरा भएको दाबी उहाँको छ । परियोजनको कार्य तथा निर्माणास्थलमा सडक, क्याम्प, जग्गा मुआब्जा, आर्मी क्याम्प निर्माण कार्यसमेत गरी पाँच अर्ब रुपियाँ खर्च भइसकेको जानकारी उहाँले दिनुभयो ।

कर्णाली प्रदेशको भविष्यसँग जोडिएको आयोजनाका रूपमा हेरिएको नलगाडको निर्माण कार्यको सुस्त गतिले यहाँका स्थानीयवासी निराश भएका छन् । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल जसरी सुरुमा कामको थालनी हुँदा नागरिकमा ऊर्जा प्रदान गरेको थियो, हालको सुस्त गतिले निराश बनाएको बताउनुभयो । यस आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गर्न सरकारसँग उहाँले माग गर्नुभयो ।

यस आयोजनाको लगानीको टुङ्गो भने अहिलेसम्म लागिसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यसमा चासो देखाएको छ । सन् २०१२ को मूल्य (एक अमेरिकी डलर बराबर ८७ रुपियाँ हुँदा) अनुसार आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रुपियाँ थियो । यसको प्रतिकिलोवाट लागत एक हजार आठ सय अमेरिकी डलर पर्ने सन् २०१२ को अध्ययनले देखाएको थियो ।

त्यतिबेला अध्ययन हुँदा यसको जडित क्षमता ४१० मेगावाट भनिएको थियो । जलाशययुक्त आयोजना भएकाले ४१ करोड ९६ लाख घनमिटर पानी जम्मा पार्ने पोखरी बनाउनुपर्ने छ । त्यस्तै चार सय केभीको ११२ किलोमिटर डबल सर्किट प्रसारण लाइन बाँकेको कोहलपुर सबस्टेसनसम्म बनाउनुपर्ने भएकाले यो आयोजना महँगो भएको हो । यसबाट उत्पादन भएको बिजुली उपभोक्ताकहाँ पुग्दा प्रतियुनिट औसत १६ रुपियाँ नौ पैसा पर्ने अध्ययनले देखाएको छ ।

नलगाड जलविद्युत् निर्माण भएमा यसले कुल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुक्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ । यहाँको नलगाड नगरपालिका–७, दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८, अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित हुने ९४५ परिवारलाई झन्डै दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपियाँ मुआब्जा वितरण गरिएको बताउनुभयो । यो आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । परामर्शदाता कम्पनीले चार वर्षअघि ३० महिनामा डीपीआर सम्पन्न गर्ने गरी जलविद्युत् कम्पनीसँग एक अर्ब ११ करोड रुपियाँमा सम्झौता गरेको थियो ।

सम्झौताअनुसार तोकेको समयमा डीपीआर पूरा नहुँदा पटक–पटक म्याद थप हुँदै आएको छ । आयोजनाका इन्जिनियर पदम थापाका अनुसार कम्पनीले डीपीआरअन्तर्गतका अरू काम पूरा गरे पनि पावर हाउस क्षेत्रको रग मेकानिकल टेस्ट र बाँधस्थलको टेस्ट अडिट अझै पूरा गरेको छैन । हालसम्म साइटमा ३२० मिटर टेस्ट टनेल खन्ने काम सम्पन्न भएको र ५५ मिटर टनेल खन्ने काम बाँकी रहेको छ ।

कोरोना महामारी, विस्फोटक पदार्थको अभाव, सडक पहुँच नपुगेकाले सामान लिन कठिनाइका कारण डीपीआरको काममा थप ढिलाइ भएको आयोजनाले जनाएको छ । छ वर्ष छ महिनाभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको जलाशयको उचाइ २१० मिटर र चौडाइ ५४५ मिटर फराकिलो रहनेछ । आयोजनाको जलाशय भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आठ हजार तीन सय मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख छ ।

नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत् गृह निर्माण गर्ने प्रस्ताव छ । बारेकोटको अँधेरीखोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बनाउनुपर्छ । पाँच सय मिटर लम्बाइ र २४८ मिटर अग्लो बाँध बन्नेछ ।

तपाईको प्रतिक्रिया