मिस्त्रीखोला जलविद्युत आयोजना: लोड सेन्टरमा माग नहुँदा पूर्ण क्षमतामा उत्पादन भएन

  साउन १९, २०७८

बेनी, साउन १९ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन थाले पनि ‘फुलफेजमा’ भने उत्पादन गर्न पाएको छैन ।

गएको असार ३ गते देखि व्यावसायिक उत्पादन थालेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला आयोजनाले हालसम्म पनि पूर्ण क्षमतामा नियमित उत्पादन गरेको छैन । विद्युत प्राधिकरण लोडसेन्टरको माग अनुसार दैनिक २८ देखि ३० मेगावाट मात्र विद्युत् उत्पादन गरी ग्रीडमा पठाइएको आयोजनाले जनाएको छ । ४२ मेगावाट उत्पादन क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा नोक्सानी व्यहोर्न आयोजना बाध्य छ ।

‘जेठ १५ बाट मिस्त्रीखोलाले विद्युत उत्पादन गरी ग्रीडमा पठाएकोमा असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालिएको थियो, प्राधिकरणको प्राविधिक कारणले लोड सेन्टरको माग अनुसार सरदर ३० मेगावाट मात्र विद्युत् उत्पादन भैरहेको छ’ मिस्त्रीखोला जलविद्युत आयोजनाका कन्स्ट्रक्सन म्यानेजर चुडामणी निरौलाले भन्नुभयो । निरौला भन्नुहुन्छ– यो क्षेत्रका अन्यत्र रहेका जलविद्युत आयोजनामा खराबी आएर उत्पादन रोकीएमा मात्रै हामीलाई ४२ उत्पादन गर्न भनिन्छं, अहिले लोड सेन्टरले भने अनुसार ३० मेगावाट मात्रै उत्पादन गर्दै आएका छौं । गएको असार ३ गतेबाट व्यावसायिक उत्पादन थालेको भए पनि हालसम्म पूर्ण क्षमतामा ४२ मेगावाट विद्युत् उत्पादन १० घण्टा पनि गरेका छैनौं ।

मिस्त्रीखोलाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका– ३ दाना स्थित कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाईनको सबस्टेसनमा जोडिएको छ । कालीगण्डकी करिडोरको पर्वत बुटवल खण्डको प्रसारण लाइन पूरा नभएसम्म यस क्षेत्रका जलबिद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकिने न्यौपानेको भनइ छ । उहाँ भन्नुहुन्छ पर्वत–बुटवल प्रसारण लाइन बन्न अरु केही वर्ष लाग्न सक्ने हुँदा त्यतिबेलासम्म हामी फुलफेज उत्पादन गर्न सक्ने अवस्थामा हुँदैनौं ।

माउण्टेन इनर्जी (साविक रोवष्ट इनर्जी) प्रालिले ०७३ जेठबाट निर्माण थालेको आयोजना सम्पन्न गर्न पाँच अर्ब ६४ करोड खर्च भएको छ । प्रति मेगावाट लागत १३ करोड ५० लाख उत्पादन लागत रहेको मिस्त्रीखोला नेपालकै सस्तोे प्रोजेक्ट भएको आयोजनाको दाबी छ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रति यूनिट वर्षायाममा ४ रुपैयाँ ६६ पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया