सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

  साउन ०९, २०७८

कञ्चनपुर, साउन ९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताउनुभएको छ ।

बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उहाँले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनुभयो । “अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन”, उहाँले भन्नुभयो, “समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ ।” सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्नुहँुदै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताउनुभयो । बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उहाँले बताउनुभयो ।

यसैबीच, आजै कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“सरकारी विद्यालय खोल्न जति जोड गर्दछौँ । विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन”, उहाँले भन्नुभयो, “त्यसको समीक्षा हुनु जरुरी छ ।” सरकारको विद्यालयमा लगानी धेरै छ, लगानीअनुरुपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

“म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेका छन् । आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ यसको खोजी गरिनुपर्छ ।”

मुख्यमन्त्री भट्टले घरपछिको शिक्षा दिने ठाउँ विद्यालय रहेको चर्चा गर्नुहँुदै विद्यार्थीमा नैतिकताको पाठ सिकाइनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले नयाँ नीति ल्याउन लागेको जानकारी पनि उहाँले दिनुभयो ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य र खेलकूदलगायतका क्षेत्रमा देखिने गरी प्रगति भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री खड्का तथा प्रदेशसभा सदस्यद्वय महेशदत्त जोशी र कुलवीर चौधरीसहितको टोलीले आज बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल–बुडर सडकखण्ड र दैजी–लिप्ना सडकखण्डको स्थलगत अवलोकन गरेको छ ।

तपाईको प्रतिक्रिया