काठमाडौँ, २१ भदौ : नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स किङ्ग्स विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा कर्णालीले खप्तड फालकन्स तथा अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटले हराएका हुन् ।
आज भएको पहिलो खेलमा कर्णालीले खप्तडलाई २५–१९, २५–१९ र २५–१९ अङ्कले हरायो । पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर्सलाई हराएको थियो । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग पराजित भएको थियो ।
यस्तै, आजै भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँलाई २५–२३, २८–२६ र २५–२३ अङ्कले पराजित गर्यो । अन्नपूर्णले पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ सेटको हार व्यहोरेको थियो । काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई ३–२ सेटले हराएको थियो ।
छ टोली सहभागी एनभिएलको पहिलो संस्करण सिङ्गल राउण्ड रोबिन लिग पद्दतिअनुसार सञ्चालन भइरहेको छ । लिगको विजेता टोलीले रु २० लाख पुरस्कार पाउनेछ । प्रतियोगिता यही भदौ २७ गतेसम्म चल्ने राससमा उल्लेख छ ।






