दुबई, २१ भदौ : दक्षिण–पश्चिम यमनमा यमनी सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म भएको लडाइँमा १४० भन्दा बढी सेना र विद्रोही लडाकुहरूको मृत्यु भएको सैन्य स्रोतहरूले बताएका छन् ।
साउदी समर्थित सरकारी सेनाका दुई सैन्य अधिकारीहरूले एएफपीलाई बताएअनुसार उनीहरूतर्फ ८४ सैनिक मारिएका छन्, जसमध्ये अधिकांश मिसाइल आक्रमणमा परेका हुन् ।
यसैबीच चार हुथी सैन्य स्रोतहरूले सोही अवधिमा ५७ विद्रोही लडाकुहरू मारिएको पुष्टि गरेका छन् ।
इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल–मन्डब चेकपोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्त्वपूर्ण बनेको छ ।
शनिबार एक सैन्य अधिकारीले एएफपीलाई बताएअनुसार एडेनस्थित सरकारको प्रमुख समर्थक साउदी अरबले ताइजमा हालै हुथीहरूले कब्जा गरेका स्थानहरूमाथि तीन हवाई आक्रमण गरेको थियो ।
विद्रोहीहरूले राजधानी सानाका लागि इरानी विमानलाई प्रवेश दिएपछि र जुलाईमा हुथी विद्रोही र यमन सरकारबीच भएको युद्धविराम उल्लङ्घन भएपछि आक्रमणको श्रृङ्खला सुरु भएको थियो ।
इरान–समर्थित हुथीहरू र अमेरिका सहयोगी साउदी अरबद्वारा समर्थित सरकारी सेनाबीचको यो लडाईँले फराकिलो मध्यपूर्वी युद्धको नयाँ युद्ध मोर्चाको उदयलाई सङ्केत गर्छ । फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गर्दै आएको छ भने इरानका धेरै क्षेत्रमा अमेरिकी आक्रमणको प्रभाव परेको छ । इरानमाथि भएको अमेरिकी आक्रमणपछि यस क्षेत्रमा इरान निकट समूहहरू सक्रिय भएका छन् ।
इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण सुरु गरेका छन् । (रासस/एएफपी)






