जर्मनीको लात्भियामाथि ७–१ को जित

  जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : जर्मनीले लात्भियामाथि ७–१ को विशाल अन्तरको जित हात पारेको छ । यूरो कप फुटबल २०२० को अभ्यास खेलमा जर्मनीले लात्भियालाई हराउँदा थोमस म्युलरले दुई वर्षमा पहिलो पटक अन्तर्राष्ट्रिय स्पर्धामा गोल गर्नुभएको हो ।

पहिलो हाफमा रोबिन गोसेन्स, इल्के गुण्डोगन, थोमस म्युलर, सर्ज नेब्री र लात्भियाको आफ्नै पोष्टको गोलले जर्मनीलाई ५–० को अग्रता दिलायो । दोस्रो हाफमा चेलसीका स्ट्राइकर टिमो वेर्नर र लेरोय सानेले गरेको एक एक गोलले जर्मनीलाई ७–० को स्थितिमा पुर्यायो ।

कप्तान म्यानुएल नेऊर राष्ट्रिय टोलिका लागि एक सय औं म्याच खेल्ने जर्मनीका पहिलो गोलरक्षक हुनुभयो । ७५ औं मिनेटमा साभेल्जेभ्सले गर्नुभएको गोल लात्भियाका लागि शान्त्वना गोल रहन गयो ।

जर्मनीले यूरो कप फुटबल २०२० को पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्सको सामना गर्नेछ । उक्त खेल १५ जुनमा हुनेछ । समूह एफ मा जर्मनी र फ्रान्स तथा पोर्चुगल र हंगेरी छन् ।

तपाईको प्रतिक्रिया