सिक्टाको पानीः किसानका खेतमा झुले चैते धानका बाला (फोटो फिचर)

  जेठ २०, २०७८

बाँके, जेठ २० : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ चौधरियाका किसान ज्ञानबहादुर नेपालको खेतमा चैते धानका बाला झुलेका छन् । सिक्टा सिँचाइ आयोजनाले नहर मार्फत नजिकैको किरण नालामा पानी छोडेपछि नेपालले पहिलो पटक चैते धान लगाउनुभएको हो ।

करिब ११ कठ्ठा जग्गामा यतिबेला धान फलेको छ । पहिलो वर्षमै धैचे धानको उत्पादन देखेपछि बाँकेमा पनि राम्ररी चैते धानको उत्पादन हुन्छ भन्ने पुष्टि भएको छ , नेपालले भन्नुभयो,– छिमेकी अन्य किसानले समेत अर्को वर्षदेखि चैते धान लगाउने भन्दै धानको बीउ माग गर्नुभएको छ ।

असार पहिलो सातासम्म धान भित्राएर फेरि बर्षे धान लगाउने तयारी नेपालको छ । नेपालले परीक्षणको रुपमा हल्दीनाथ–३ र चैेते धान–५ नामक धानको खेती गर्नुभएको छ । लामो समयदेकि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गर्नुभएको हो ।

एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपाल बताउनुहुन्छ । घर नजिकैको किरण नालामा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताउनुभयो । नेपालले चैते धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताउनुभयो ।

राष्ट्रिय गौरबको सिक्टा सिँचाइ आयोजना आर्थिकबर्ष २०६१/६२ मा निर्माण सुरु भएको हो । गतवर्षदेखि सिक्टाले मूल नहर र शाखा नहरमार्फत पानी छोडेको हो । हाल सिक्टाको सिंचित क्षेत्रफल ४२ हजार ७६६ हेक्टर क्षेत्रफल हुने अनुमान गरिएको छ । हाल शाखा नहर निर्माणकार्य चलिरहेको छ ।

तपाईको प्रतिक्रिया