निषेधाज्ञामा पनि तनहुँ हाइड्रोको काम जारी (फोटो फिचर)

  जेठ ०८, २०७८

तनहुँ, जेठ ८ : कोभिड–१९ को बढ्दो सङ्क्रमणले यहाँ गरिएको निषेधआज्ञाका बाबजुद तनहुँ हाइड्रोपावर लिमिटेडकाको काम धमाधम भईरहेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाका मापदण्ड पालना गरी काम सूचारु गर्ने निर्णय भए बमोजिम काम भईरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

निषेधआज्ञाले काम प्रभावित नहोस् भन्ने उद्देश्यले भौतिक दुरी, सेनीटाईजर, मास्कको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पूरा गर्ने, कामपछि बाहिर आवतजावत नगर्ने जस्ता नियम पालना गर्ने गरी काम भईरहेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

आयोजनाका १० , परामर्शदाताका ३५ गरी ४५ जना कर्मचारी, र ५६५ जना कामदारबाट सूचारु भईरहेको तनहुँ जलविद्युत आयोजना प्रमुख अच्युत घिमिरेले गोरखापत्रलाई जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्धारा गत वर्ष गरेको देशव्यापी बन्दाबन्दीको समयमा १० दिन मात्रै बन्द गरिएको र त्यसपछि निषेध आज्ञा तथा सार्वजानिक विदा, देशैं, तिहार जस्ता ठुला चाडपर्वमा समेत काम सूचारु गरिएको घिमिरेले बताउनुभयो ।

नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि गत चैत्र १० गते ठेक्का सम्झौता भईसकेकोले निषेध आज्ञाको समयमा पनि काम भईरहेको उहाँले जानकारी दिनुभयो । १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करबाहेक)मा खरिद सम्झौता भए अनुरुप पहिलो प्याकेजको काम भईरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने व्यवस्था गरिएकोले निषेध आज्ञाको समयमा पनि काम तिब्र रुपमा भईरहेको छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ्ग र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ्गको निर्माण कार्य गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । प्रशारण लाइनमा ४० जना खटिईरहेका छन् ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधीन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ । कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुत्त आयोजना भएकाले नेपाल सरकारले प्राथमिकता दिएको छ । सुख्यायाम भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यता रहकोेले सो समस्या टार्नको लागि सरकारले यस अयोजनालाई प्राथमिकता दिएको आयोजना प्रमुख घिमिरे बताउनुहुन्छ ।

वि.सं. २०६२ सालमा पहिचान भएको र बर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ बर्ग किलोमिटर रहेको छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहने छ । आयोजनाको बाँध स्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडा भित्र ११ सय ६२ मिटर लामो सुरुङमार्ग बाट निर्माण गरि सेती नदिको पानीलाई भूमिगत विधुत गृहमा पुर्याएर विधुत उत्पादन गरिने बताइएको छ । तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विधुत २२० केभीको डवल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूर स्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

तपाईको प्रतिक्रिया