म्यान्चेष्टर सिटीका लपोर्टे फ्रान्सको नागरिकता त्यागेर स्पेन जाँदै

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : फुटबलको सर्वाेच्च निकाय फिफाले म्यान्चेष्टर सिटीका डिफेन्डर ऐमेरिक लर्पोटे फ्रान्सेली नागरिकता परित्याग गरेर स्पेन जाने अनुमति दिएको छ । २६ वर्षीय लर्पोटेले गत् साता मात्रै स्पेनको नागरिकता प्राप्त गर्नुभएको छ । फिफाको अनुमतिपछि उहाँले यूरो २०२० मा स्पेनको प्रतिनिधित्व गर्नुहुने भएको छ ।

लर्पोटेले फ्रान्सको युवा टोलिमा अटाएपनि राष्ट्रिय टोलिको प्रतिनिधित्व गर्न सक्नुभएको छैन् । फिफाले एक वक्तब्य जारी गरी तात्कालै लागू हुने गरी उहाँ स्पेनको प्रतिनिधित्व गर्न सक्ने उल्लेख गरेको छ । फ्रान्समा जन्मिएका लर्पोटेले सन् २०१८ मा पाँच करोड ७० लाख यूरोमा म्यान्चेष्टर सिटीमा आबद्ध हुनुभयो । त्यसअघि उहाँ एथलेटिको बिल्बाओका लागि खेल्नुभएको थियो ।

फिफाले गत वर्ष आफ्नो वार्षिक साधारण सभाबाट खेलाडीले राष्ट्र परिवर्तन गर्न खोजेको अवस्थालाई ध्यानमा राखेर विधानमा संशोधन गरेको थियो । संशोधित विधान बमोजिम २१ वर्ष हुनुअघि तीन वटा खेलभन्दा बढीमा राष्ट्रिय टोलीका लागि नखेलेको र विश्वकप वा महादेशीय प्रतियोगिता नखेलेको अवस्थामा अर्को राष्ट्र पुग्न सक्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया