फाइनलमा पुग्न ललितपुरले काठमाडौंको सामना गर्दै

  बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको फाइनलमा पुग्न ललितपुर सिटी एफसीले काठमाडौं रेजर्सको सामना गर्ने भएको छ ।

एलिमिनेटरमा ललितपुरले बुटवल लुम्बिनीलाई हराएपछि फाइनलमा स्थान सुरक्षित गर्न उसले काठमाडौंसँगको भेट सुनिश्चित गरेको हो । धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंलाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ ।

दोस्रो क्वालिफायर खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज साँझ साढे पाँच बजेपछि हुनेछ । ललितपुरले एलिमिनेटरमा बुटवलमाथि १–० को जित हात पार्यो । ललितपुरको जितमा अञ्जन विष्टले गर्नुभएको एक मात्रै गोल निर्णायक भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको ६० औं मिनेटमा अञ्जनले गर्नुभएको प्रहार गोलमा परिणत भयो । बुटवल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल खेल जेठ १ गते त्रिपुरेश्वरस्थित दशरथ रङशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया