युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही

  बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ ।

सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर यूनाइटेड तथा टटनहम हर्ट्सपर, एसी मिलान, इन्टर मिलान र एटलेटिको मड्रिडमाथि जरिवाना तोकिएको छ ।

युरोपेली फुटबल लिगबाट अलग हुन अस्वीकार गरेको रियल मड्रिड, बार्सिलोना र जुभेन्ट्सलाई भने उपयुक्त कारबाही गर्ने युरोपेली फुटबल सङ्घको अनुशासन समितिले जनाएको छ ।

युरोपेली सुपर लिग गत अप्रिल १८ मा घोषणा गरिएको थियो । तर प्रशंसक र बेलायत सरकारको आलोचनापछि इंग्लिस क्लबले घोषणा भएको ४८ घण्टाभित्रै आफ्नो सहभागिता फिर्ता लिएको थियो ।

कारबाहीमा परेका नौ वटै टोलीले एक करोड ५० लाख युरो बालबालिकाको हित र युरोपमा फुटबलको प्रवर्धनका लागि खर्चिने सहमति जनाएका छन् ।

साथै नौ वटै टोलीलाई युरोपेली फुटबल सङ्घले आयोजना गर्ने प्रतियोगिताका लागि दिने अनुदानमा एक वर्ष पाँच प्रतिशत कटौती गरिनेछ ।

तपाईको प्रतिक्रिया