कुशल मल्लले बनाए अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अद्र्धशतक लगाउने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान

  बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : नेपालका कुशल मल्ल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटमा अद्र्धशतक लगाउने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउनुभएको छ । यसअघि उक्त कीर्तिमान नेपालकै सन्दीप जोराको नाममा रहेको थियो । कुशल मल्लले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्स बिरुद्धको फाइनल खेलमा उक्त कीर्तिमान बनाउनुभएको हो ।

नेदरल्याण्ड्स बिरुद्धको खेलमा उहाँले १७ वर्ष ५० दिन पुरा गर्दै गर्दा अद्र्धशतक लगाउनुभएको छ । यसअघि सन्दीप जोराको नाममा उक्त कीर्तिमान थियो । सन्दीप जोराले १७ वर्ष १०३ दिनको रहँदा अद्र्धशतक पुरा गर्दै अन्तर्राष्ट्रिय टी ट्वान्टीमा सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउनुभएको थियो ।

उहाँले उक्त कीर्तिमान यूनाइटेड अबर एमिरेट्स(यूएई) बिरुद्धको टी ट्वान्टी खेलमा बनाउनुभएको थियो । उक्त खेलमा मात्र ४६ बलमा ५३ रन बनाएर उहाँ अविजित रहनुभएको थियो । यूएई बिरुद्ध उहाँले तीन चौका र एक छक्का लगाउनुभएको थियो । नेपालले यूएई बिरुद्धको उक्त खेल २१ रनले हारेको थियो ।

त्यसअघि, रोहित पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कान्छो खेलाडीको रुपमा अद्र्धशतक पुरा गरेको कीर्तिमान बनाउनुभएको छ । उहाँले पाकिस्तानका शाहिद अफ्रिदी र भारतका क्रिकेट हस्ती सचिन तेन्दुलकरको कीर्तिमान भङ्ग गर्नुभएको थियो ।

रोहितले उक्त कीर्तिमान १६ वर्ष १४६ दिनको हुँदा पुरा गर्नुभएको छ । यूएई बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंलाको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा उहाँले ५८ बलमा ५५ रन बनाएर उक्त कीर्तिमान बनाउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया