नेपालद्वारा नेदरल्याण्ड्समक्ष २३९ रनको लक्ष्य प्रस्तुत

  बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : नेपालले नेदरल्याण्ड्स समक्ष २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भएको खेलमा नेपालले २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २३८ रनको योगफल तयार गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा भइरहेको फाइनल खेलमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको नेपालले औसत सुरुवात गरेको थियो ।

ओपनर आशिफ शेष मात्र आठ बलमा १६ रन बनाएर पेभेलियन फर्किदा नेपालले दुई ओभर दुई बलमा ३० रन जोडेको थियो । सुरुवाती र मध्यक्रमका सबै ब्याट्सम्यान उल्लेख्य प्रदर्शन गरेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भएको हो ।

कुशल भुर्तेलसँग कप्तान ज्ञानेन्द मल्लले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेर टोलिको योगफल ८७ रनसम्म पुर्याउनुभयो ।

ज्ञानेन्द्रले मात्र १९ बलमा तीन चौका र दुई छक्का लगाएर ३३ रन बनाएर पेभेलियन फर्किदा चौथो नम्बरमा ब्याटिङ गर्न आउनुभएका कुशल मल्लले विष्फोटक पारी खेल्दै टोलिलाई १८ औं ओभरको चौथो बलमा दुई सय रनको योगफलसम्म पुर्याउनुभयो ।

नेपालले १८ ओभरमा तीन विकेटको क्षतिमा २०६ रन बनाउँदा कुशल मल्लले मात्र २२ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४८ रन बनाउनुभयो ।

नेपालले १२ औं ओभरदेखि १७ औं ओभरका बीच पाँच ओभरमा ८६ रन जोड्दा कुशल भुर्तेलको रुपमा एक मात्र विकेट गुमाउन पुग्यो । अन्तिम पाँच ओभरमा नेपालले एक विकेट गुमाएर ८१ रन जोड्यो ।

कुशल मल्ल, कुशल भुर्तेलले अद्र्धशतक लगाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ४८ रन बनाएर अविजित रहँदै अद्र्धशतक लगाउनबाट चुक्नुभयो । उहाँले पारीको अन्तिम बलमा चौका लगाएर ४८ रन बनाउनुभयो ।

ओपनर कुशल भुर्तेलले मात्र ४३ बलमा पाँच चौका र दुई छक्का लगाएर आफ्नो अद्र्धशतक पुरा गर्नुभयो । ११ रनको ब्यक्तिगत् योगफलमा पहिलो जिवनदान पाएका कुशलले १३ औं ओभरको चौथो बलमा फिलिप बोस्सेभेनको बलमा छक्का लगाउँदै अद्र्धशतक पुरा गर्नुभयो ।

उहाँले ५३ बलमा आठ चौका र तीन छक्काको सहयोगमा सर्बाधिक ७७ रनको योगदान दिनुभयो । यो उहाँको टी ट्वान्टी अन्तर्राष्ट्रियको सर्बाधिक ब्यक्तिगत् योगफल हो, गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया