उपाधिको लागि नेपालले नेदरल्याण्ड्सको सामना गर्दै

  बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ ।

नेपाल लिग चरणको विजेता हुँदै फाइनलसम्मको यात्रा तय गरेको छ । नेदरल्याण्ड्स भने दोस्रो स्थानमा रहेर नेपालसँगको भेट सुनिश्चित गरेको हो । नेपालले प्रतियोगिताको तीन खेलमा जित हात पारेको छ । पछिल्लो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।

नेदरल्याण्ड्स भने दुईमा जित र एक खेल बराबरी खेलेर फाइनलमा पुगेको छ । टी ट्वान्टी अन्तर्राष्ट्रियको विश्व वरियतामा १५ औं स्थानमा रहेको नेपालले नेदरल्याण्ड्सलाई हराएर विश्व वरियतामा उक्लिने सम्भाबना लिएर मैदानमा उत्रिनेछ । दर्शकको अनुपस्थिति रहेपनि नेपाललाई भने घरेलु मैदानको साथ रहनेछ ।

नेपालले लिगको अन्तिम खेलमा मलेसिया बिरुद्ध उतारेको अन्तिम एघारलाई नै प्राथमिकता दिनेछ । स्पिनर साहब आलमको स्थानमा कमल ऐरीले स्थान पाउन सक्नुहुनेछ । कमलले डेब्यु खेलमै तीन विकेट लिनुभएको थियो । नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्म सात पटक स्पर्धा गरेको छ । नेपालले चार खेलमा जित हात पारेको छ भने नेदरल्याण्ड्स भने दुई खेल जितेको छ । एक खेल परिणामविहीन टुंगिएको छ ।

प्रतियोगिताको पहिलो भेटमै नेदरल्याण्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको नेपालले दोस्रो खेलमा तीन विकेटको हार बेहोरेको थियो । पछिल्लो खेलमा नेपालको बलिङ कमजोर कडीको रुपमा देखिएको थियो । २०६ रनको योगफल तयार गरेपनि नेदरल्याण्ड्सले रोमाञ्चक स्पर्धामा तीन विकेटको जित हात पारेको थियो । उपाधिको लागि भिड्दा नेपालले बलिङमा देखिएको कमजोरीलाई सुधार्न प्रयत्नशील रहनेछ ।

नेपाली क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षकको रुपमा पहिलो प्रतियोगिता रहेको छ । ब्याटिङमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेषको जोडीको अभूतपूर्ब सफलताले नेपाली टोलिले हालसम्म ठूलो योगफलसम्म सहजै पुग्न सकेको छ । यद्दपी उक्त योगफलको रक्ष ागर्न सकेको छैन् । नेदरल्याण्ड्स भने अपेक्षाकृत सुधारिएको प्रदर्शन गर्न सकेको छैन् ।

नेपाललाई घरेलु मैदानमा पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने अवसर समेत जुरेको छ । घरेलु मैदानमा नेपालले पहिलो पटक दक्षिण एशियाली खेलकुद खेलेको थियो । उक्त प्रतियोगिताको उपाधि बङ्गलादेशको २३ वर्ष मुनिको टोलिले जितेको थियो ।

तपाईको प्रतिक्रिया